Google
Free Image Hosting

Monday, March 24, 2008

राजसंस्था बचाउन कांग्रेसीको अपिल

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले मुलुकको अखण्डता र राष्ट्रियताका लागि राजसंस्था आवश्यक भएको भन्दै अतिवादको दबाबमा नपर्न आग्रह गरेका छन् । ११ चैतमा पूर्वसभामुख तानानाथ रानाभाटसहित १९ जना कांग्रेस नेताहरुले विज्ञप्तिमार्फत आत्मनिर्णयसहितको स्वायत्त प्रदेशले मुलुक बिखण्डन हुने खतरा औल्याएका छन् ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा रानाभाटसहित पूर्वमन्त्रीहरु विपिन कोइराला, ओमकार श्रेष्ठ, मार्शलजुलुम शाक्य, दीनबन्धु अर्याल, कांग्रेस नेताहरु शिवबहादुर खड्का, अकबरबहादुर सिंह, अनारसिंह कार्कीलगायत छन् । उनीहरुले जननायक वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति झन् सान्दर्भिक भएको र कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईको राजसंस्थाको पक्षमा आएको अडानप्रति
ऐक्यवद्धता जनाएका छन् ।
'संवैधानिक राजसंस्था वा गणतन्त्र, एकात्मक वा संघीय राज्य प्रणाली, हिन्दु राज्य वा धर्म निरपेक्षता जस्ता दूरगामी असरपर्ने राष्ट्रिय प्रश्नहरुमा जनभावनाको यथार्थ आंकलन नगरी केही दल विशेषका केही नेताहरुका कपटपूर्ण दबाबले निर्णयमा पुगिसकेको दम्भ प्रदर्शन जनताको ठाडो अपमान हो र राष्ट्रिय हितको उपेक्षा हो भन्ने हामीलाई लागेको छ,' विज्ञप्तिमा भनिएको छ । सबै शक्ति र विचारलाई समानरुपले खेल्ने अवसर दिनुपर्नेमा उनीहरुको जोड छ । उनीहरुले अगाडि भनेका छन्,'सबैखाले अतिवादको बाघपञ्जाबाट मुलुकलाई जोगाउन र राष्ट्रको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र एकतालाई बचाउन पूर्ण प्रजातान्त्रिक पद्धतिको निर्माणका लागि बिबेक र निष्ठापूर्वक अग्रसरहुन अपिल गर्दछौं ।'
मातृ दल बहुलवादसहितको संघात्मक लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णयमा पुगिसक्दा असन्तुष्ट पक्षले चुनावको मुखैमा राजसंस्थाको वकालत गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

No comments: