Google
Free Image Hosting

Monday, March 24, 2008

चुनाव शान्तिपूर्ण गर्ने सहमति

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

काठमाडौ । सत्तारुढ ६ दलको बैठकले दलहरुको कार्यक्रममा कुनै दलले अवरोध नपुर्याउने तथा संविधानसभा चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 
सत्तारुढ ६ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व नरहेको चैत ११ गते सम्पन्न बैठकले एक दलले अर्को दलको चुनाव प्रचार कार्यक्रमलाई अवरोध नपुर्याउने तथा चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गर्ने निर्णय गरेको बाम मोर्चाबाट बैठकमा सहभागी सिपी मैनालीले बताए । 'माओवादी अध्यक्ष प्रचण्डले समेत यसमा प्रतिवद्धता जनाउनुभएको छ' संचारकर्मीहरुसँग मैनालीले भने । ६ दलले प्रतिबद्धतापत्र समेत तयार गरेका छन्, जुन केही बेरमै सार्वजनिक हुँदैछ । सार्वजनिक हुने प्रतिबद्धतापत्रमा सातै दलका नेताहरुको हस्ताक्षर हुने जनमोर्चा नेता घनश्याम शर्मा पौडेलले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड, जनमोर्चाका घनश्याम शर्मा पौडेल, सदभावनाका श्यामसुन्दर गुप्ता र बाम मोर्चाका सिपी मैनालीलगायतका नेता सहभागी थिए ।

No comments: