Google
Free Image Hosting

Wednesday, March 26, 2008

बादी बस्तीमा संविधानसभाको चहलपहल भएन

आफ्नोन्यूज, चैत १३ गते बुधबार

वीरेन्द्रनगर । संविधानसभाको निर्वाचन नजिकिंदै जाँदा सदरमुकाम वीरेनद्रनगर नजिकै रहेको लाटिकोइली ९ झुप्राखोला बादी बस्तीमा भने कुनै चहलपहल हुन सकेको छैन । संविधानसभा निर्वाचनको बारेमा आफ्नो समुदायमा कसैलाई पनि जानकारी नभएको समुदायका बासिन्दाको गुनासो छ । २०४२ सालदेखि सो स्थानमा बसोबास गर्दै आएका बादी समुदायका करिब ६० घरपरिवार त्यहाँ रहेका छन् ।'संविधानसभाको बारेमा सुनेको मात्र छु तर कसैले पनी बुझाउन आएका छैनन्' समुदायका जयबहादुर बादीले भने । संविधानसभाले नया“ नेपाल बनाउने भन्छन् त्यहि त होला । अहिलेसम्म देशमा शोषण भएकोले त्यसो हुन नदिन चुनाव गराउन लागिएको उनले बताए । बिहान उठेर ढुङ्गा बालुवा नखोस्रेसम्म साँझबिहान हातमुख जोड्न नपुग्ने भएकोले संविधानसभाको बारेमा केही नबुझेको र बुझाउन पनि कोही नआएको अर्का बासिन्दा जेठिसरा बादिले बताइन् । गाँउमा अहिलेसम्म नेताहरू नत संविधानसभा भनेको के हो भनेर बुझाउन आएका छन् नत भोट माग्न आएका छन्’ उनले भनिन् । संविधानसभाको मिति नजिकिँदै गएको बेला आफ्नो पिछडिएको समुदायमा कोही पनी नआउँदा आफुहरूलाई दुःख लागेको उनले बताइन् । यसअघिका चुनावमा भोट माग्दै घरघर आउने नेताहरूले अहिलेसम्म मुख नदेखाएकोमा अर्का स्थानीय बासिन्दा रामदन बादीको चित्त दुखेको छ । पहिलापहिला नेताहरूले धेरै आश्वासन दिए, तर पुरा गराउन सकेनन, त्यसैले पनी यो पटक अहिलेसम्म मुख देखाएका छैनन् भन्दै उनी भन्छन् 'हामीलाई यो खोलाको किनारबाट जसले मुक्ति दिलाउँछ त्यसैलाई भोट दिन्छौ ।' तीन सय भन्दा बढी मतदाता रहेको सो वस्तीमा मतदाता शिक्षासमेत पुगेको छैन । निर्वाचन आउन दुई हप्ता बाँकी रहदा पनि निवाचनको माहोल बन्न नसक्नुमा दलहरूको कमजोरी रहेको समुदायका अगुवा विष्ण् बादीले बताए । उनले भने 'हामीलाई धेरै पटक भोट वैङ्कको रुपमा प्रयोग गरिन्छ तर नयाँ संविधानसभाको बारेमा बुझाउन कसैले चासो देखाउँदैन । यता जिल्ला निर्वाचन कार्यालय, सुर्खेतले सो वस्तीमा यसअघि मतदाता शिक्षाका लागि सहजकर्ताहरू पठाइएको र त्यस्तो कठिनाई भए फेरि पठाइने जनाएको छ ।

No comments: