आफ्नोन्यूज, चैत ९ गते शनिबार ( बेलुकी १०:३० बजे )
काठमाडौ । नेपालस्थित संयुक्तराष्ट्रसंघीय मिसन (अनमिन)ले दलका कार्यकर्ताबीच भएको झडपप्रति चिन्ता व्यक्त गरेको छ । ९ चैतमा नेपालस्थित मानवअधिकार उच्च आयुक्तको कार्यालयसंग मिलेर तयार पारेको पछिल्लो हिंसा सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै आचारसंहिता पालन गरी संविधानसभा निर्वाचनलाई सफल बनाउन सुझाव दिएको छ ।
अनमिनले चुनावका लागि उपयुक्त वातावरण बनिसकेपनि प्रमुख दलहरुबीचको झडपले समस्या खडा गरेको ठहर गरेको छ । उसले अन्य दलको चुनावी गतविधि बिथोल्ने, कुटपिटमा उत्रने काम तत्काल अन्त्य गर्न आग्रह गरेको छ । यस्तै अवस्था रहे चुनावमा झडप हुनसक्ने अनमिनको विश्लेषण छ ।
चुनावमा दलहरुले युवा संगठनलाई छुट्टाछुट्टै परिचालन गर्ने भनेपछि थप झडप हुने अनमिनको आशंका छ । उसले चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाधलिरहित रुपमा सम्पन्न गर्न सबैलाई जिम्मेवार हुन सुझाव दिएको छ ।
माओवादी कार्यकर्ताले धादिङ, बैतडी, दार्चुला, रामेछापलगायतका स्थानमा अन्य दलका नेता कार्यकर्तामाथि आक्रमण गरेको अनमिनको प्रतिवेदनमा उल्लेख छ ।
No comments:
Post a Comment