आफ्नोन्यूज, चैत १७ गते आईतबार
काठमाडौ । नेकपा एमालेका महासचिव माधवकुमार नेपालले माओवादीको राजासंग सांठगांठ रहेको आरोप लगाएका छन् । हिजो राजधानीमा आयोजित चुनावी सभामा बोल्दै उनले दरबारनिकटलाई प्रचण्डले बारम्बार भेट्नु र उनीहरुलाई संविधानसभामा पार्टीका तर्फबाट उम्मेदवार बनाउनुले राजासंग सांठगांठको आशंकालाई पुष्टि गर्न बल पुगेको बताए ।
'माओवादीको राजासंग सांठगांठ रहेको छ,' नेपालले भने,' वीरेन्द्र र ज्ञानेन्द्रसंग सांठगांठ रहेकोहरु एमालेजस्तो वामपन्थीलाई आक्रमण गरिरहेका छन् । उनीहरु राजावादीलाई किन राष्ट्रवादी भन्दैछन् ?' चुनावमा आशंका पैदा गर्ने काम माओवादीबाट भएको भन्दै आलोचना गरे । उनले चुनावी तालमेलका ढोका अझै खुला रहेको बताए । माओदीलाई जनताको मत लिएर सत्तामा पुग्न चुनौती दिए । नेपाली सेना र प्रहरीलाई गाली गरेर माओवादीले उनीहरुको मनोबल गिराउने प्रयास गरेको बताए ।
एमाले स्थायी कमिटि सदस्य केपी शर्मा ओलीले माओवादीको देखाउने दांत मात्र गणतन्त्र भएको बताए । उनले भने,'माओवादी वास्तवमा राजावादी हो, उसको देखाउने दांत मात्र गणतन्त्र हो ।' माओवादीले सूर्यबहादुर सेन ओलीजस्ता राजावादीलाई उम्मेदवार बनाउनेदेखि दरबारियालाई भेट्ने काम गरिरहेकाले उनीहरुको असली चरित्र चुनावले देखाउने बताए । जनयुद्धका क्रममा माओवादीले कुनैपनि सामन्तलाई एक थप्पड नहानेको उल्लेख गरे । माओवादीकै कारण चुनावी तालमेल असम्भव भएको बताए । चुनाव सफल बनाउन आफूहरुले संयमता अपनाएको बताउदै अब चुप लागेर नबस्ने बताए । आफूहरुको चुनावी लडाईं कांग्रेससंग भएको बताउदै भने,'दुइवटा सांढे जुधिरहंदा बीचमा बाछो आएर जिस्काइरहेको छ, किचिएला भन्ने जानेर साइड लाग्दा हुन्छ ।'
एमाले स्थायी कमिटि सदस्य इश्वर पोखरेलले कांग्रेस र माओवादीले राम्रो संविधान बनाउन नसक्ने भन्दै आफूहरुलाई जिताउन आग्रह गरे । केन्द्रीय सदस्य विद्यादेवी भण्डारीले माओवादीलाई भोट दिनु आतंकलाई समर्थन गर्नुसरह हुने बताइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले माओवादी २८ चैतबाट साइजमा आउने बताए । वाम एकताको वाधक प्रचण्ड भएको बताउदै भने,'झण्डा, नारा र सिद्धान्त एउटै बोक्नुछ भने किन अर्को दल खोलेर बस्ने ?' प्रचण्ड राजा ज्ञानेन्द्रसंग मिलेर प्रधानमन्त्री खाने प्रयासमा लागेको उनको आरोप थियो । वाम दलहरु जुंघाको लडाईं लडिरहेको भन्दै एकताको आव्हान गरे ।
कार्यक्रमको संचालन एमालेका समानुपातिकतर्फका उम्मेदवार डा.विजय पौडेलले गरेका थिए ।
No comments:
Post a Comment