Google
Free Image Hosting

Sunday, March 30, 2008

बम विस्फोटको घटना अत्यन्तै निन्दनीय एवम् घृणित घटना भएको

आफ्नोन्यूज, चैत १७ गते आइतबार

विराटनगर । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विराटनगरको जामे मस्जिदमा हिजो गराइएको बम विस्फोटको घटना अत्यन्तै निन्दनीय एवम् घृणित घटना भएको बताउनुभएको छ । कोइराला निवासमा आज बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले बम विस्फोटजस्ता घृणित कार्यले कसैलाई फाइदा नपुर्‍याउने बताउँदै जुन उद्देश्यले घटना भएको भए पनि सो उद्देश्य कहिल्यै पूरा नहुने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले घटनाका पीडित परिवारलाई धैर्य र संयम अपनाउन पनि हार्दिक आग्रह गर्नुभयो । आफू संविधानसभाको निर्वाचनलाई शान्तिपुर्ण एवम् निष्पक्ष ढङ्गले सम्पन्न गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गर्नुहुँदै उहाँले सो घटनाका सम्बन्धमा छानविन गन आयोग गठन गरिने र अपराधीमाथि कडा कारबाही गरिने बचन दिनुभयो । प्रधानमन्त्री कोइरालाले सात पार्टीबिच आपसी सद्भावको कमीका कारण देशमा अप्रिय घटना भइरहेको बताउँदै आतङ्क मच्चाउने काम राष्ट्रहित र जनताको भावना विपरीत भएको स्पष्ट पार्नुभयो । श्री कोइरालाले सरकारले तर्राईका सशस्त्र समूहका लागि वार्ताको ढोका खुला राखेको बताउँदै मुस्लिम समुदायलाई धैर्य गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले धार्मिक आस्था र साम्प्रदायिक सद्भाव खलबल्याउने घटनाले कसैको हित नहुने उल्लेख गर्दै त्यस्ता घटना अत्यन्त निन्दनीय हुने पनि बताउनुभयो । उहाँले यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीमा विचलन नआउने पनि स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री तीन दिनको बसाइँपछि आजै काठमाडौँ फर्किनुभयो ।

No comments: