आफ्नोन्यूज, चैत २४ गते आइतबार
पोखरा । संविधान सभामा माओवादीको बहुमत आउने दावी गर्दै नेकपा माओवादीका बरिष्ट नेता डा बावुराम भट्टर्राईले माओवादीलाई षडयन्त्र गरी हराए मतगणनाको दश सेकेण्डमै जनताले सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको छ । 'माओवादीलाई षडयन्त्र गरि हराए जनताले सत्ता कब्जा गर्ने छन् ।' डा भट्टराईले शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो-'माओवादीलाई हराए नयाँ नेपालको निर्माण हुन सक्दैन, जनताले चाहेको गणतन्त्र पनि आउँदैन ।'
उहाँले जनताको अभिमतलाई राजनीतिक दलले दुरुपयोग गरेको अवस्थामा जनताले शासन सत्ता पल्टाउने जानकारी दिनुभयो । डा भट्टर्राईले सम्पूर्ण कम्युनिष्टहरु एक हुनुपर्ने जिकिर गरेपनि एमालेको चरित्रको कारण बाम एकता सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले सच्चा बामपन्थी को हो फैसला बेला आएको छ भन्दै तालमेल हुन नसकेकोप्रति रुष्ट हुदैं बाम ध्रुविकरण गर्न ढिला गर्न नहुने बताउनुभयो । डा भट्टराईले ऐतिहासिक संविधान सभा हुन केवल चारदिनमात्रै बाँकी रहेको अवस्थामा जनतालाई नसुत्न आग्रह समेत गर्नुभयो । 'जनताले लेख्ने संविधान सभाको चुनाव नजिकएको छ, सुत्नु हुदैन कुरेरै बस्नुपर्छ ।' उहाँले भन्नुभयो । उहाँले मुल मुद्धाको रुपमा रहेको सेना समायोजन प्रक्रियामा काँग्रेस र एमालले चासो नदिएको आरोप लगाउनुभयो । 'विद्यमान दुइ सेनाको समस्या हल गर्नुपर्छ ।' सेनाको पुनसरंचना नभए विद्रोह हुन सक्छ ।' उहाँले भन्नुभयो ।अत्याधुनिक हतियार लिएर क्याण्टोनमेनमा बसेका जनमुक्ति सेनाको बारेमा नबोल्नुले युद्ध निम्त्याउने संकेत हो भन्दै डा भट्टराईले संविधान सभा भएको भोलिपल्ट युद्ध चाहनेकी दिगो शान्ति त्यसको फैसला गर्ने बेला आएको बताउनुभयो । 'अब पनि देश युद्धमा गयो भने दशवर्षहोइन २० औं वर्षम्म चर्कन सक्छ ।' उहाँले भन्नुभयो ।
माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिको रुपमा ल्याउनु व्यक्तिवादी चरित्र नभएको खुलासा गर्दै मत गणनापछि राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना हुदाँ राष्ट्र हाँक्नको लागि योग्य व्यक्ति छानेको जिकिर गरे ।कार्यक्रममा स्थानीय विकास मन्त्री तथा कास्की क्षेत्र न. १ का उम्मेदवार देवप्रसाद गुरुङले सामन्तवादको कारण मुलुक विदेशीको उपनिवेश भएको बताउँदै चुनावमा फेरपनि सामन्तवादी शक्तिलाई जिताए विदेशीको चंगुलमा फस्ने जिकिर गर्नुभयो । उहाँले नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी नयाँ शक्तिको काँधमा आएको दावी गर्दै जनतालाई शरणार्थी बनाउनेलाई परास्त गर्नुपर्ने बेला आएको बताउनुभयो ।
No comments:
Post a Comment